Rule 123
विभागीय सजायको आदेश र नक्कल सम्बन्धी कार्यविधि
: (१) सशस्त्र प्रहरी कर्मचारी उपर कुनै विभागीय सजायको निर्णय गर्दा विभागीय सजायको आदेश दिन पाउने अधिकारीले सम्बन्धित सशस्त्र प्रहरी कर्मचारीलाई सफाई वा स्पष्टीकरण पेश गर्न पर्याप्त मौका प्रदान भए नभएको समेत विचार गरी निजबाट पेश भएको सफाई, स्पष्टीकरण तथा उपलब्ध सम्पूर्ण सबुद प्रमाणको समुचित मूल्याङ्कन गरी स्पष्ट कारण खुलाई आफ्नो स्पष्ट राय साथ निर्णय गर्नु पर्नेछ ।
(२) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सशस्त्र प्रहरी कर्मचारीलाई एक किसिमको विभागीय प्रस्तावित गरी सफाई, स्पष्टीकरण माग गरे पछि अर्काे किसिमको विभागीय सजाय दिने गरी निर्णय गर्नु हुँदैन ।
तर कुनै कारण परी घटी वा बढी सजाय गर्नु परेमा नियम ११८ र १२१ को कार्यविधि पुन अवलम्बन गर्नु पर्नेछ ।
(३) विभागीय सजायको आदेश दिन पाउने अधिकारीले उपनियम (१) बमोजिम कुनै पनि सशस्त्र प्रहरी कर्मचारीलाई विभागीय सजाय दिने निर्णय गर्दा निर्णय मितिभन्दा पहिलेदेखि नै लागू हुने गरी गर्नु हुँदैन ।
तर नियम ११३ को उपनियम (१) को खण्ड (ज) र सोही नियमको उपनियम (२) को खण्ड  (घ) बमोजिम अनुपस्थित वा गैरहाजिर भएको आधारमा विभागीय सजाय गर्दा यसरी अनुपस्थित भएको वा गैरहाजिर भएको मितिदेखि लागु हुने गरी गर्न सकिनेछ ।
(४) कुनै पनि सशस्त्र प्रहरी कर्मचारीको सम्बन्धमा उपनियम (१) बमोजिम भएको विभागीय सजायको आदेशको एकप्रति नक्कल सजायको आदेश दिन पाउने अधिकारीले सम्बन्धित सशस्त्र प्रहरी कर्मचारीलाई बिना दस्तूर दिनु पर्नेछ ।
(५) उपनियम (४) मा जुनसुकै कुरा लेखिएका भए तापनि विभागीय सजाय गरिएको सशस्त्र प्रहरी कर्मचारी सम्पर्कमा नरहेमा विभागीय सजायको आदेशको नक्कल प्रचलित कानून बमोजिम निजको परिवारको सदस्यलाई बुझाउनु पर्नेछ । परिवारको सदस्यले बुझी नलिएमा वा परिवारको कुनै सदस्य नभेटिएमा त्यस्तो सजायको आदेश प्रचलित कानून बमोजिम निजको घर ठेगानामा सार्वजनिक रुपमा टाँस गर्नु पर्नेछ । उल्लिखित जुनसुकै तरिकाबाट त्यस्तो आदेश बुझाए वा तामेल गरेपछि सोको निस्सा वा भरपाई वा तामेली प्रति सम्बन्धित फाइलमा संलग्न गरी राख्नु पर्नेछ । त्यसरी विभागीय सजायको आदेशको नक्कल बुझाएको वा टाँस गरेकोमा सम्बन्धित व्यक्तिले पछि आफूले जानकारी नपाएको भनी दाबी गर्न सक्नेछैन ।